26 June 2010

सुरुआत संगै समाप्ति

. 26 June 2010

बुटवल बजार मंसिरको महिना प्रभातको किरण हल्का सुरु  भएको कुहिरो माथि मुस्कुराउदैछ ।   भर्खर
 बिहानी सुरु हुदै छ । अँधेरो  चिर्दै चम्किरहेका रंगी-बिरंगी बल्बहरु एक पछी अर्को गर्दै निभ्ने क्रम जारी छ ।  शिशिर यामको आगमन हुन लागेको हुनाले कतै कतै बिहानी शिरेटोले कमजोर बूढाबुढी हरुलाई न्यानो सूर्यको किरणतर्फ आकर्षित पनि गरेको छ।  बिहानीलाई आफ्नो घेराबन्दीमा राख्न खोज्ने कुहिरो माथि परेका प्रभातका सुनौला किरणहरुलाई देख्दा आफ्नो अवमूल्यन भएको महसुश पनि गर्दै छ त्यो हुस्सु र कुहिरोले। त्यहिँ रमझमलाई नियाल्दै मेरा पाइला हरु पनि क्रमश बस्ति छोडने तरखरमा लागेका छन् । पारिवारिक संसर्गको मनमा एक्लो पनको अनुभूति जगाउदै मेरा पाइलाहरु बहिरीदैछ्न, त्यो शहर बिरानो बनाउदै ।
 
लु. अ. ख. १८४५ को यात्रीबाहक बस हाम्रो प्रतिक्षाको घडीलाई समाप्त पार्दै आइसकेको छ अगाडी ।  सयौ यात्री आफ्नो गन्तव्यको लागि तछाड मछाड गर्दै ठेलाठेल गर्दै छन्।  हुलमुलमा उछिन्ने होडबाजी चलिरहेको छ त्यहाँ ।  मानौ यात्राको अरु कुनै विकल्प नै छैन जसरि ।  सभ्यता र संस्कृतिको राम्रो पहिचान  बोकेका हामीहरुले अज्ञानता र अपरिहार्यताको बतास बोकेर आफ्नो परिचय पनि राम्ररी नै दिएका छौ बसपार्क मा पनि ।  सिद्धबाबाको काखैमा अवस्थित तिनाउ नदि र केहि परको मणीमुकुन्दसेन पार्कमा मनलाई भुलाउदै यात्रालाई रोमान्टिक र निरासराहित बनाउने जमर्को पनि गर्दैछु ।
 
चढियो १८४५ को भिडियो कोचमा, बस्न त बसियो त्यो कोचमा तर एउटा पनि अडियो गीत सम्म सुन्ने मौका मिलेको भने होइन ।  यात्रा भरि बरु आफ्नै थोत्रो आइपड्को पो काम आयो ।   त्सैले होला हामी भरिला  देशका खोक्रा जनता  भाको । कागजमा एउटा व्यवहारमा अर्कै। बसियो मनमा किलै गाडेर भएपनि गन्तव्यको लागि ।  यात्रामा रमाइलो साथी भएमा यात्रा सहज हुन्छ भने झैँ परिछन् एउटी क्यानेडियन खैरेनी संगैको सिटमा ।  अब मनमनै त हो नि हामी ठुलो ठालु बाहिर पटक्कै बाक्य फुट्ने होइन क्यार ! एउटी सिटमा  बसेकी २२-२४ बर्षे तरुनी खैरेनिलाई देखेर  मनले  ढ्यांग्रो  पनि ठोकेकै छ भने अर्को तिर के के न होला जस्तो मन प्रशन्न  भएजस्तो पनि छ ।   बसमा सबै यात्रुहरु एक आपशमा   परिचय बाँड्दै  छन् आ-आफ्नो सिटमा ।  बाटोमा आइपर्ने घुम्ती र मोडहरुमा यात्री ओराल्ने र चढाउने क्रम पनि जारी छ, लोकल बस जस्तै । नीति नियम कागजमा लेखि पैतालाले कुल्चने परम्परालाई राम्रै संग आत्मसात गरेको छ यो चालक परिवारले पनि ।

                     कति बेला सम्म चुप लाग्ने भन्दै  फोडे मनको मौनतालाई मैले र फुकिदिए खैरेनीको कानमा हावा ।  मेरो हावाले छोएछ क्यारे हेलो भन्दै मुस्कुराइन नानी त ।  अनि जुटाए हिम्मत र फुटाए बोलि यात्राको सहज पनको लागि मैले ।  हाम्रो वार्ता शुरु  भयो सरकार र विपक्ष दलका नेताहरु जस्तो गरि ।  परिचयको ढोका  खोल्दा जुलिया भेटे दैलोमा।  २ मैने नेपाल बसाईको तीन चौथाई  पुरा गरि सकेकी उनि बाँकी समयलाई यात्रा र रमाइला ठाउँ भेट्ने तिब्रतामा रहेछिन ।  प्रशिद्ध धार्मिक स्थल लुम्बिनीको रमाइलो यात्रालाई आफ्नो मनमा उतारेर फर्किदै गरेकी जुलिया नेपाल र नेपालीको सुख- दुखमा रमाउदै बग्ने गर्छु भनिन । मौका छोपेर सवालका तिरहरु हान्दै छु म पनि बेलाबेलामा ।  हातमा कुनै उपन्यासकारको किताब पल्टाउदै आदर्शको पाठ  पनि सुनेकै छु मैले ।  त्यो त म पनि यात्रामा घरीघरी  हेरिरहन्छु पत्रपत्रिका छाटी दिन्छु दर्शन पनि ठुटे अंग्रेजीमा भएपनि  ।  लुम्बिनी  यात्राका रमाइला कुराकानीमा बहकिदै हामी अब अलि बढी नै घनिष्ट हुन् पुगेजस्तो भान भाको छ  । नेपाल र नेपाली प्रतिको मेरो प्रश्न पत्रमा उनले सोझा साझा ,स्वाभिमानी र सहयोगी जनता माझको लोक सस्कृतिमा प्रकृतिको सुन्दरता अति नै झल्केको छ तर प्रबिधि, दक्ष जनशक्तिको आभाव  र चर्को राजनैतिक खिचातानीको कारण तिमीहरु पछी परेका छौ ।  सबैले झैँ उनले पनि त्यही खोकिन

गाडी रोकिन्छ ।  ठेलागाडी र सुपामा फलफुल बेच्नेहरूको घुइचोको त के नै भन्नु पर्यो र अझै बिदेशी देखेपछी  । सुन्तलाको बोक्रा फोकर ह्यान्ड ब्यागमा राख्दै खानको लागि अनुरोध नगरेकी त होइनन तर सानोमा गल्ति  गर्दा सुन्तलाको बोटमा  बाँधिएर  रातभरी सुन्तला खाएको मिठो अनुभव सम्झिदै खान मन  नलागेको कुरा दर्शाए मैले पनि उनीलाई ।  खोकी पनि लागेकै छ र सुन्तला पनि खाएकै छिन ।  खोकीले सताउदा रुमालमा पोको परेर ब्यागमा राखेको पनि देखेकै छु ।  मलाई लाग्छ पश्चिमाहरू त्यसै अगाडी बढेका छैनन् ।  मानबियता, स्वाभिमान र अनुशासन नै मानव उन्नतिको पहिलो पाठ हो, जसबाट निडरता त्यतिकै, शिष्टता त्यतिकै । बिदाइको नैराष्यताले कुडिएको मेरो यो यात्रा प्रेरणादायी पनि बन्यो ।  मलाइ लाग्छ जहाँ यस्ता मानव स्वाभिमानका लालीहरु पोखिन्छन तिनै कर्तव्यबोध र आचरण हरुले हामीलाई पनि तानी दिए कस्तो हुन्थ्यो होला ।  हामी त खाली आफैसंग झुटो बोलि सत्यको घाँटी समाउदै आवरणमा सत्चरित्रको हावा फूक्छौ जसले पुरै  देश गन्हाउछ ।  गफै गफमा मुग्लिन सम्म आइपुगिएछ ।  चारैतिरबाट राजधानी भित्रिने हजारौ यात्रीहरुको भिड उस्तै एउटा होटेलमा पसी मम खाइयो ।  हैन यो  तातोपानी हुदै नेपाल भित्रिएको ममचा ले कति सम्मान पाको हो नेपाली समाजमा भनेको  त बिदेशीहरुलाई पनि उत्तिकै पल्काको रहेछ ।  खुबै चाख लिएर गाडीले हर्न नफुके सम्म सुरुप्प पर्दै भन्या !

अब शुरु भयो पहाडी भेगको रमणीय यात्रा ।  बाटोमा आइपर्ने सुन्दर ठाउँ र कुरिनघाटको केबुलकार लाई  आधार बनाउदै उनको ध्यान तान्दै छु म पनि ।  कति मेरा मात्रै कुरा गर्ने भनेर कोट्याए उनको मन पनि ।  ह्युमेनेटी र ईन्भारमेन्ट  बिषयलाई मुख्य आधार बनाएर क्यानाडा युनिभर्सिटीमा भर्खर प्रवेशिका पढाई गरिकी उनि आफ्नो लक्ष्य मानव सेवा र बालबालिकाको श्रम शोषण बिरुद्ध लागि पर्ने बताइन ।  मौका मिले फेरि पटक पटक नेपाल आउने उनको अर्को रोजाईको कुरा रहेछ ।  नेपालको बालबालिका तथा महिला उत्थान सम्बन्धि एउटा प्राइभेट संस्था  संग आबद्ध पनि रहेछिन जुलिया ।
साँझको ६ बजिसकेछ हाम्रो यात्राले करिब १२ घन्टाको दुरी पार गरिसकेको छ ( जाम सहित ) ।यो अवधिमा धेरै नै कुरा भए हामी बीच ।  जहाँ रहेपनि नियमित सम्पर्कमा  आउने वाचा सहित जुटेर छुटनुको नियम अंगाल्ने पक्षमा पुग्यौ  ।  आजकलको सबैभन्दा सजिलो सम्पर्कको माध्यम ईमेलको पनि साटासाट भयो तर यो समयले जुटाएको यात्राका पात्र हामीबीचको यो दिन भने अविष्मरणीय नै बन्यो र रंगियो मेरो कागजमा आज ।  बिधुतिय तारमा कहिलेकाही सल्बलाए पनि प्रतक्ष्य रुपमा सुरुवात र समाप्ति त्यहिँ दिन नै थियो हाम्रो लागि ।   समयले फेरी जुटाउला वा  मेटाउला जे भएपनि हाम्रो त्यो एकदिने मित्रताको यात्रा अनन्तको डोब संगै क्यामेरामा पनि कैद हुन् पुगेछ ।


                                                छिनमै  जुटाउने
                                                 छिनमै  छुटाउने
                                              साथ नरहेपनि यात्राले
                                                    बर्षौ सम्म
                                                 मनका भाव फुटाउने

***********************************************************************************

8 प्रतिक्रिया:

Bed Nath Pulami said...

सुर्य जी निकै रमाइलो यात्रा भएछ .....
हरेक यात्राहरु उस्तै र राम्रा हुदैनन तर केहि यात्राहरु राम्रा र विर्सनै नसकिने खालका पनि हुन्छ ! त्यहि विर्सन नसकिने खाल्का यात्राहरुले
यस्ता भाव उत्पन्न गराउछन ...
"छिनमै जुटाउने
छिनमै छुटाउने
साथ नरहेपनि यात्राले
बर्षौ सम्म - भनका भाव फुटाउने "
............
एउटा कुरा सुर्य जी -ती नानीले सुन्तलाको बोक्रा आफ्नो हेण्ड ब्याग्मै राख्ने सभ्यता निकै घत लाग्यो !

दूर्जेय चेतना said...

राम्रो र सुन्दर यात्रा रहेछ। रोचक लाग्यो। १२ धन्टाको यात्रा (जाम सहित) भन्ने सम्म आइपुग्दा लेखाईमा ईमान्दारिता देखाउनु भएको आभाष भो। रोचक लाग्यो है।

Dilip Acharya said...

भन्छन् नि खुशी आफैं आउँदैन,बोलाउनु पर्छ । अनि रमाइलो पनि आफैं हुँदैन बनाउनु पर्छ । यो पोस्ट पढ्दा भने मलाई यस्तै लाग्यो । निरस र पट्यार लाग्ने लामो यात्रालाई तपाईँले रमाइलो बनाउनु भएछ (पढ्दा पनि रमाइलै भयो:)।

सुरुआत र समाप्ति त हरेक चिजसँगै आउने गर्छ, १२ घण्टको यात्रा वा ८० वर्षको जिन्दगी । तर कुनै कुनै सुरुआत आफैंमा पूर्ण हुन्छन् । लाग्छ यस पटकको तपाईँको यात्रा पनि यस्तै रह्यो । रोचक प्रस्तुति ।

गोकुल ढकाल said...

सुन्दर प्रस्तुती, यात्राको स्वर्णिम बर्णन । रमाइलो लाग्यो पढेर ।

Anonymous said...

wonderful journey . thanks for sharing surya bro-- manoj

कृष्णपक्ष said...

यात्रा त गज़ब रमाइलो भएछ सुर्यजी, विशेष गरि मौनताको घैटो फुटाएर तपाइले यात्रा निकै रोचक बनाउनु भएछ । यसरी हिड्दा संगैको यात्रीसंग भलाकुसारी गर्दै अघि बढ्दा बाटो काटेको पत्तै हुदैन ।

Shiva Prakash said...

यो यात्राको जस्तै जीवनमा यसरी नै सबै कुरा रमाइला हुदै जाउन्, जुरून् ।

सूर्य/सिकारु said...

हो, मलाई पनि तेस्तै लाग्यो यात्रामा मिल्ने साथी भए जस्तो सुकै कठिन यात्रा पनि रमाइलो हुने रहेछ भने कथनलाई पुरा गर्यो यो यात्राले। शाब्दिक यात्रामा हातेमालो गर्दै मिठा सुझाव पोख्ने सबैलाई धन्यबाद ।

Post a Comment