कथा (बोइङ ७४७)
म आफ्नो एकाग्रतालाई सामुहिक बनाउन मौन मनले मानिसहरुको भीड नियाल्दै छु तर मेरो स्मरणलाई धान्दा धान्दै पनि मुखबाट फुत्त निस्कीएछ
ज्योति ।
समुहकी अर्की नारीले मेरो मौनतालाई भंग गर्दै भनीन
उनी ज्योति हैनन जेनि ।
मेरो दोधारलाई चिरफार गर्दै मै पट्टी लम्कदै गरेका उनका शब्दले छोयो मेरो कानमा । अब त लाग्यो आखिर परिचय त अझै नयाँ नै रहेछ हाम्रो ।परिचयको लगाम समाएर मैले मनमनै भने।
म सिकारु ।
जवाफमा मुसुक्क मुस्काउदै आफ्नो परिचयलाई अथ्यार्इन उनले।
म जेनि , मृतसागरको पानी पिएर आको।
उनको ब्यङगात्मक कुरो मैले पनि बुझिहाले । अनि शुरु भयो हाम्रो बहसको बिस्तारको लगाम ।
सामान्य कुराकानी,पारिवारिक तालमेल र वैदेशिक रोजगारीको अवसर र बाध्यता दुबैको मिल्दोजुल्दो नै लाग्यो।
कतार एयरवेजको ७४७ को यान संगै मातृभुमी र आफन्तहरुको न्यानो कोखमा रम्ने आशा सहित यात्राले एक चौथाई भाग पुरा गरिसकेको थियो । हवाई यात्राको ट्रान्जीटलाई काखे साथी ल्यापटपमा आखाँ घुमाउदैछु थिए म।
त्यसै बेला गेट न. ८ बाट एक हुल नेपालीहरुको आगमन भएजस्तो लाग्यो । गएर बुझे मेरो अनुमान मिलेछ।एक्लीएको म ल्यापटप बन्द गरेर उतैतिर पाइला सारे । समुहकी नारीहरु सङग मेरो पनि नेपालीको नाताले नाता गाँसियो। अनि अलिकति खुसीसाथ एक्लोपनाको निवारण गर्न तिर लागे ।नेपालीहरु मध्ये महिलाहरुको संख्या अधिक । सामान्य जानकारी अनुसार इज्राएल रोजिगारमा गएका केही महिलाहरू स्वदेश फर्कदै रहेछन । संगठित मस्तिष्कले पनि राम्ररी प्रतिनिधित्व गर्न सकेन त्यो बेला। आफ्नै परिचयलाई तिब्र बनाउदै समुहकी एउटी महिला लाई देखेर म आश्चर्यमा परेको थिए ।उनिसङ्गैको प्रारम्भिक कुराकानी थियो माथीको।
कुरा फेरि जोडियो
सिकारु यो कस्तो नाम? तिमी त जुझारु यानिकि निपुण जस्तो देखिन्छौ फेरि किन सिकारु ?
ब्यङग्यले भरिएका प्रश्नहरुमा मुहारमा झल्केको ज्योतिलाई नियाल्दै जवाफ ओकले मैले ।
उसो त तिमि पनी ज्योति हुनुपर्ने कारण तिमी दीप जस्तै बलिरहेकी छौ ।
मैले पनि केहि ब्यङग्य प्रस्तुत गरे ।
छोडनुस यि कुरा नाम कहिले रहरले कोरिदो रहेछ त कहिले बाध्यताले ।
किन? आफ्नो नाममा पनि कसैको अधिकार हुन्छ र ? नाम परिवर्तन स्वेच्छाको बिम्ब होइनर ?
प्रश्नको उत्तर दिन फेरि मैले अतित खोतल्नतिर लाग्नु भन्दा टार्ने बिचारले हँ मा अ मिलाइदिए।
हुनत म पनि नाम परिवर्तनको शिकार हुँ । भैगो छोडनुस यी कुरा ।यतिका लामो अन्तरालमा निश्ठुरिले एकपटक पनि खोज्ने प्रयास गरेन ।
स्वरको भोलुम घटाई भनिरहेको कुरा मैले नसुनेको झैगरि मौन बसे । सायद दुबैको प्रश्न एउटै थियो
।
जीवनको यो लामो बिछोडमा म जस्तै उनी पनि कुनै अतितमा हराइन जस्तो ।परिचयलाई लम्ब्याउदा उनको करिब आधा दसकको अवधि मृत सागरमा तैरिएछ , जस्तो मेरो मरुिभुममा बित्यो । । दोहा अन्तर्राष्ट्रिय बिमानस्थलबाट काठमाडौंको लागी टर्मिनल ८ हुदै उडान भर्न लागीरहेको बोइङ ७४७ को बोडीङ पास लिएर हामी हाम्रो सीट नं एफ २८ र ३० मा बस्न पुग्यौ । सीट फरक परे पनि संगै बस्ने तीब्र ईच्छाका कारण एफ २९ को साथी अन्जान संग अनुरोधको हात फैलाउदै एकै ठाउँमा बस्ने ब्यवस्था मिलायौ।
फेरि गफमै भुलियो
जेनि कसरी तिमि नाम परिवर्तनको शिकार भयौ ? अघीको सानो आवजलाई मैले ठुलो पारे ।
कता कता केहि मिलेजस्तो लाग्ने हाम्रो यात्रामय साथको ग्यापलाई खाली नराख्न मैले केही न केही बहाना अवस्य झीक्नु थियो। मेरो व्यग्रतालाई शान्त पार्न केही मलिन आवाजमा उनले मुख खोलीन ।
त्यो दिन त्यो शहर र त्यो काललाई मैले कहिले भुल्न सकेको छैन सिकारु जि ।
फेरि सोधे कस्तो दिन ? कस्तो काल र कस्तो परिस्थितिको कुरा गर्दै छौ तिमी ?
सिकारु महाशय ! मेरो अतितलाई यस्ता सिकारुले बुझन सक्दैनन।(हाँसियो दुबै)
जेनि जी उसोभए मलाई तपाइका कुराले जुझारु बनाउनु न (दुबैले तिमी र तपाइको प्रयोग गरेका छौ घरी घरी )धेरै ठुलो कुरो भए त्यै प्रेमको धोका त होला नि ? या कुनै पारिवारिक वियोगान्त कथा होला मैले जानेजस्तो गरि घोचे।
के थाह आफू सिकारु बाट भिखारी भाको तैपनि कल्पना गर्दै बोले ।
ब्यङगै ब्यङग्यमा अनुहारमा बादल लगाई बोल्न थाली उ ।
सिकारु जी कुनै बेला थियो आकाश र म एकै गाउँ ठाउँका,वामे सर्दा देखी यौवनले काउकुती लगाउने बेला सम्म एउटै परिचय बोकेको हाम्रो मित्रताले प्रेम डोरोलाई पनि कताकता अगाल्न लागिसकेको अनुभूति गराएको थियो । हामीलाई समयले फेरि कसरी भेट गराउला अब थाह छैन? तर उहाको अनुपस्थितमा कति कष्टकर बनेर बित्यो मेरो यत्रो पलहरु । सायद त्यै दिन थियो हाम्रो आत्मियताको प्रगाढ सम्बन्धलाई चटक्क छिनाएर नदीबाट दुई किनारा बनाइ हीडेको। शुरुवात त त्यै थियो नि हाम्रो ।
कुन दिन?
मैले बोलिहाले तर अब फेरि बिचमा नबोल्ने बाचा गरे किनकी उनी त्यै अतीतमा हराउदै बोलिरहेकी थिइन ।
स्कुले जीवनको अन्त्यतिर आइपुग्दा हाम्रो मित्रताको लहरोले भर्खर अंकुराउन लागेको प्रेममय पललाई पनि अङ्गिकार गर्न लागेको थियो सायद त्यसैले त मित्रताको भावले प्रेमको आत्मीयता पनि खोज्दै थियो । भिन्न बिचारका सहपाठी भएर पनि जीवनको गन्तब्य एउटै खोज्दै थियौ हामी ।उहाँ आफ्नो कुरामा अढीग हुनुहुन्थ्यो भने म स्वच्छ प्रतिस्पर्धामा अती मरि मेटथे ।
(हैन यत्रो लामो समय धोका दिएर हराउनेलाई पनि तपाई भनी सम्बोधन गर्दै छ उ, मनमनै सोचे )
उनि भन्दै छीन...
शिशु देखी स्कुल छोडने बेला सम्म आइपुग्दा हामी बिच कहिल्यै चर्को आक्षेप र दोषारोपण पनि भएन । म उहाँलाई परकिय भन्न पनि कहिले सक्दिन । उँहा परोक्ष म पनि एक्लै भएकी छु ।त्यो समाजले कोरेको लक्ष्मण रेखाको पराकाष्ठा नाघेर समाज संग परास्त भएर म हिडनुले त्यो समाजले मलाई कातर सम्झेको होला तर नारी अस्तित्वको मर्म नबुझेको त्यो समाज प्रती मेरो कत्ति गुनासो छैन । म त्यो जन्मठाउ छोडेर जहाँ गएपनी मलाई त्यै पर्णकुटी नै प्यारो लाग्थ्यो।
मैले सुन्दै ह मा अ मिलाउदै छु। ऊनी भन्दैछिन।
तर मलाई त्यो परिवेशमा मेरै निर्णयले आँखा चिम्लिन बाध्य बनायो र चिम्लिए पनि ।
जब मैले आबेगलाई सहारा बनाउदै सुखद भविस्यको कल्पना गर्दै यो शहरको रंगमा घुलमिल हुने प्रयास गरे तर मेरो शहर मैले सोचेजस्तो रहेनछ । म त सोच्थे शहरमा पढेलेखेका, शिक्षित र मानवीय भावना बोकेका मान्छे मात्रै होलान ।अर्काको दुख-सुखमा साथ देलान।जहाँ म आफ्नो लगनशीलता र स्वाभिमान लाई प्रयोग गरि जीउन सक्नेछु। तर मेरो सोच गलत साबित भयो मेरो लागी आधुनिकतामा बेरिएको त्यो शहर त केबल चुसक, स्वार्थी र लुटाहा प्रवृत्तिको रहेछ ।
जहाँ-जहाँ मैले आफ्ना प्रगति पथका पाइलाहरु बिछ्याउदै हिडथे त्यहाँ मलाई पछाडिबाट कसैले तानिरहेको हुन्थ्यो। मैले त्यो पर्णकुटी जसरी त्यागे त्यो भन्दा सयौ गुणा मलाई यो शहरसंग जुध्न भयो । म पाइला पाइला मा लुटीएकी हुन्थे ।नारी भक्षक सहितानहरु मेरो अघिपछी घुमिरहेका हुन्थे ।त्यहाँ मैले जति नै आदर्शको कुरा गरेपनि सुन्ने कोहि हुन्नथ्यो। अनि म त्यै हाम्रो पलपलको साथ सम्झेर रोइरहन्थे तर मैले वाचा गरिसकेको थिए कि जबसम्म मेरो लक्षमा म पुग्दिन तबसम्म घर फर्कने छैन ।
त्यसपछि नत मेरो लक्षमा म पुगे नत त्यो रुन्चे अनुहार लिएर गाउ नै पुग्न सके। मलाई समयले त लुटयो लुटयो त्यो शहरले पनि लुटयो। मैले त यस्ता कुरा पर्दामा मात्रै देखेकी थिए जब वास्तविकतामा आफै पर्दा बनेर खुम्चिए अनि मलाई एउटा उज्यालो शहरको अध्यारो परिवेश र पर्दाका गतिविधि उस्तै उस्तै लाग्न थाल्यो।जति शहरका ती पशुगत र निन्दनय ब्यवहारमा मलाइ बिचरण गरियो । त्यति नै उनीहरु आफुलाई उच्च कोटिको दर्जामा राख्थे र शोषकहरु आफुलाई विजयी प्राप्त भएको अनुभव गरि रमाउथे। हुँदा हुँदा मलाई अब त एउटा असल र स्वच्छ मान्छे अगाडी उभिदा पनि त्यही भक्षकको रुपमा नै कल्पना गर्थे। सायद लुटिनुको वास्तविकता झल्केको होला तर जे भएपनि मेरो उत्पीडनको ज्वाला झन झन बली नै रहयो।म यो पुरुष प्रधान समाजको लागी चुनौती त दिन चाहन्थे तर एक्लीएकी मलाई कस्ले साथ दिन्थ्यो र ? त्यै शहरले मलाई ज्योति बाट जेनि पनि बनायो ताकि मेरो पहिचानले त्यो दीप जस्तो ज्योतिको अपमान भएको आभास नहोस। नारी स्वतन्त्रतालाई अंकुश लगाउदै चुलो चौकोमा सिमित पार्दै पुरानो युग देखाउने त्यो समाज र बाहिर नारी स्वतन्त्रताको बिगुल फुकेर दिनभर गोष्ठी र सेमिनार देखाउने अनि साझ परेपछि आँखा चिम्ली खेलौना सम्झेर बाजी मार्न कम्मर कस्ने शहरको दैनिकीमा पनि म अटाउन सकिन । त्यसैले म मेरो एकजना आफन्तको साहारामा वैदेशिक रोजगारीमा जाने निधो गरे। बिना अर्थ घर न घाटको दोसाधमा जीवनलाई उभ्याउनु भन्दा मेहनत गरेर फल लिनु नै राम्रो लाग्यो अनि पुगे म मृत सागरको क्षितिजमा केहि आशा र भरोसा बोकेर।अहिले आफ्नो अवधि पुरा गरि फर्किदै छु ।
ऊनी भन्दैछिन....
सायद मैले आकाशको वास्तविक बिचारका अनुरोधलाई राम्ररी नियन्त्रण गर्न नसक्नु र समस्याहरुलाई सिमित समयमै निराकरण गर्न नसक्नु नै यो परिस्थिति निम्त्याउनु हो जस्तो लाग्छ । यदी मैले आकाशको साथ पाएको भए मनको शान्तिमा जीवन पर्यन्त संतुष्टीको मीठो आभाष पाउथे होला ।मेरो एक्लोपना निवारणको लागी उ मुहान बन्थ्यो होला ।उसको अनुरोधको पारखी भएको भए मलाई यो निष्प्रेममा प्रेम ,डरमा साहस,आँसुमा मुस्कान,अन्योलमा उपाय र अस्थिरतामा स्थिरता मिल्थ्यो होला । म क्षमा माग्न चाहन्छु त्यो मनको मान्छेसंग न म अब उसको नै हुन सक्छु न उ मेरो नै ।
यतिका बेलासम्म मेरो मुहारले पसिनाको आँसु झार्दै चित्त ब्याकुल बनाएको छ। कतै मेरो मनलाई बर्षौ पहिले चटक्क छोडेर हिड्ने ज्योति यिनै त होइनन? एकातिर डरले काप्दैछु त अर्कोतिर मनले जप्दैछु म ज्योती मागेर ।
तर कसरी हुनसक्छ ? अनुहार त हल्का मिलेकै छ।फेरि शारीरिक बनावट त उस्तै छैन ? त्यत्रो लामो कपाल बुच्चो भएको छ। बोल्दा मुखमा भएको हाउभाउ आँखामा सरेको छ। गाई चराउन जादा लडेर भाच्चिएको दाँत पनि भरिलो देखिन्छ । मुख्य कुरा त हामी भेट हुँदा बाले देखेर लखेटदा खेरी उनको हातको औलामा किला बिझेर औंलाको थोरै टुप्पो काटनु परेको थियो ।त्यो त अवस्य हुनुपर्छ।
सोच्छु ,हु न त बिदेशको लवाई खवाइमा परिवर्तन भएको पनि त हुन सक्छ। फेरि एकपटक सुक्ष्म रुपले त्यो मुहार अनि पुरै शरीर नियाल्ने कोशिश गरे तर जाडोको मौसमले शरीर पुरै कपडाले छोपिएको कारण केही देखिन।
मेरो मुहारमा परेको कालोपोतोलाई देखेर आफ्नो मुहारमा केहि बनावटी हाँसो साथ उनि थप्छिन ।
ओ सिकारु महाशय! दुई-चार कुरा प्रेमका नाटकीय संवाद के गरेकी थिए अनि भावनामा बगेर यसरी मुकदर्शक हुनुपर्छ ? ल बस्दै गर्नु म रेस्टरुम गएर आउछु
( उनी ट्वाइलेट जानलाई उठीन हातमा लगाएको पन्जा खोलेर सिटमा राखिन।मैले छिटो-छिटो आँखा घुमाएर हात हेर्ने कोसिस गरे नभन्दै बुढी औंला चोटको कारण औला अझै उस्तै रहेछ उनी उठेर गइन )
म एकातिर खुसीले रु कि झै लाग्यो भने अर्कोतिर
मलाई एक्लो पारी हिडने ज्योतिलाई प्लेनको त्यै झ्याल फुटाएर सँगै हावामा हामफालु जस्तो पनि।वा ट्वाइलेटबाट आउनासाथ यात्रीहरुको अगाडी नै च्याप्प समातेर अंगालो हाली झम्टेर रोउ।
सबैको अघि चिच्याएर कराउ। सोच्दा सोच्दै उनी आइपुगिन मुसुक्क हासेर बस्दै पन्जा लगाइन।
विमान परिचारिकाले ल्याएको पेय पदार्थको घुटको निल्दै मेरो मनको पिडा पनि यसरी पोखिएछ त्यो हावाको बेगमा ।
जेनि जेनि यो सब के हो ? तिमी जेनि हुनै सक्दिनौ तिमी मेरो ज्योति हौ ज्योति अनि म तिम्रो आकास कसरी भुलेको ?
अनि सिकारु ? कसरी ? अनायासै मेरा हातहरुले उनलाई सुम्सुम्याउन पुगे । फेरि धैर्यताका साथ आफुलाई सम्हाल्दै बाक्य प्रस्फुटन गराउने हिम्मत जुटाउन लागे ।
ज्योति तिमी जेनि बनेजस्तै म पनि तिम्रो अभावमा दिनानुदिन एक्लो हुदैगए। तिमिले गाउँ छोडेर शहर पसेपछि म केबल आकाश बनेरै त्यो हराएको ज्योतिलाई नियालीरहे तर कहिँ पाउन सकिन । समय संगै बढेको तिम्रो जवानी र सुन्दरतालाई पराइको जिम्मामा लगाउने तिम्रो पारिवारिक अन्धो निर्णय तिमिले लत्याउन खोजेकै दिन मेरो खुसीले पनि कहिल्यै रमाउने ठाउँ पाएन ।देशमा आधुनिकताले उच्च जरो गाडेपनी हाम्रो सामाजिक संस्कारले आत्मसात गर्न नसकेरै हाम्रो दिन शुरु भयो ।तिम्रो परिवारबाट बिहेको कुरा चल्नु र तिमी त्यस्को प्रतिद्वन्दी भै हिडेको दिन नै दुई जीवनको नमेटीने दाग बन्यो ।
ज्योति हुन त मैले हाम्रो बारेमा बैकल्पिक प्रारुप पनि तयार पारीसकेको थिए । तिम्रो प्रेमाशक्तिमा लिन भएर पनि मौखिक रुपमा मौन बसे म । तर जे भएपनि आफ्नो मायाको सन्सार सम्झेर समाजको बखेडा झेल्दै भएपनी मायामार्गी भएर धावन गर्न पनि त तम्सीएको थिए नि। जीवनको गोरेटोमा तिम्रो बनिरहन आफ्नो आचरण पनि त सुधारेकै थिए । तिमी त भनेकी थियौ नि युगल बनाउ भनेर तर त्यो अनैतिकता बोकेको पिलन्धरे समाजको अगाडी पुरुषार्थ देखाएर भगाई परिबन्धमा पर्न नचाहेकै हो
किन ? थाह छ तिमिलाई? किनकि बिना योजना कच्चो धागोलाई समाएर अरुको अधीनमा जकडीएर बस्न त के कल्पना समेत गर्न मन लागेन मलाई त्यो दिन जस्को कारण तिमी हिडयौ र म एक्लो भए । यस्तै कुरामा दिनहरु बितिरहे र मलाई तिमिले लगाइदिएको आकाशको ताज तिम्रो अभावमा अपूर्ण लाग्यो र प्रेमपिडाको उपासना स्वरूप सिकारु बनेर नयाँ गोरेटोमा हिडने प्रयास गरे । जो मेरो पहिचान बनेको छ अचेल र यसैमा मेरो संसार पनि अडेको छ। हेर त तिमिले ख्याल ख्याल गर्दै हसिया चलाउदा हातबाट फुत्केर निधारमा लागेको चोट पनि खत बनी बसेको छ तर मैले यसलाई खत नभनी चिनो स्वरुप सम्हाली राखेको छु।
मलाई लाग्छ मलाई पनि हाम्रो अतीतको समिक्षक बन्ने अधिकार् त पक्कै छोडेकी छौ भनेरै यति बोल्ने दुस्साहस गरे ।
(अब त उनले पनि लामो समयको हाम्रो प्रेम र अभावको समस्यालाई राम्ररी बुझीसकिछन क्यारे आकाश नै भनी सम्बोधन गर्न थालीन )
आकाश अवस्य छ तिमिलाई यो अधिकार र तिमी निसंदेह आफ्नो हकको सदुपयोग गर्न सक्छौ। मेरो भावुकतालाई भंग गर्दै उनी मुख खोलीन।
अनि बिहे?
ज्योति हाम्रो बिछोडपछी मैले पनि केहि गर्न सकिन भनौ एउटा हातले ताली बजेन । घरबाट बिहेको कुरा एकोहोरो आइरहयो। २-३ बर्ष त तिम्रो आगमन हुन्छ कि भनी बाटो कुरिरहे तर कतैबाट तिम्रो सुइको सम्म नपाएपछि बाध्य भएर बिहे गरे। क्षमा चाहन्छु ज्योति म तिम्रो हुन सकिन तर एक चिम्टी सिन्दुर तिम्रो शिरमा पार्न नसके पनि तिम्रो हरेक सुख-दु:खमा हर कोणबाट साथ दिनेछु भन्ने प्रण गर्दछु।
मैले सोधे अनि तिमी?
म त तिम्लाई नै कुरी बसेको सौता त बनाउछौ नि?
ठट्टा नगर न साँचो भन
साच्चै हो क्या। म अब तिम्रो घर जाने
भैगो नभन ( म झर्किए)
ल ल आकाश, बिहे नगरेको भए त म यो चुच्चे नाकमा डोरी लगाएर मेरै बशमा ल्याउथे नि।
के गर्नु गरिहालेछौ ।नारी भएर अर्को नारीको खुसीमा भाजो हाल्न भएन नि है ।( हाँसो दुबैको)
हो आकाश मैले आजसम्मको संघर्ष मेहनत र लगनशिलताले राजधानीमा एउटा घर बनाएकी छु
तर जीवनसाथीको बारेमा सोच्ने फुर्सदै नै पाएको छैन। तिमिसँग छुटनुको पीडा त छदैथियो त्यसमाथी आफ्नै अनेक समस्या। बाबा आमा पनि बूढो भैसक्नु भयो।बिगत जे जस्तो भएपनी अब त्यो घरमा बाबाआमालाई ल्याएर राखी म फेरि इज्राएलबाट क्यानाडा जाने तरखरमा छु।
मेरो जिन्दगीमा आउने मान्छेलाई अवस्य तिमिसङ्ग भेटाउने छु।
ए ए बुढी भयौ त अब कस्ले लान्छ?
हेर त बुढी छु। छुन मन लागेन यो सुन्दर बदन?
भैगो जस्ले लान्छ उसैले मुसारोस।त्यो जवानीको जोशमा त केही उपद्रो गरिन अब ब्यर्थैमा किन नि? उनी मज्जाले हासिन।
ए साच्चै तिम्रो दाँत भाचिएको बनेछ है।जिज्ञासा राखे
हो नि तिम्ले भाच्देको है?
मैले इज्राएल गै मिलाएको
(यतिबेला सम्म हामी दुबैले राम्रो संग आफुहरुलाई सम्हालेका छौ।)
ज्योति था छ ? तिमिलाई मैले आधुनिक नाम चलेका सामाजिक संजालका धेरै पेजहरुमा खोज्दै गए तर तिमी कहि कतै भेटीइनौ भेटनु पनि कसरी ? सायद ज्योति बाट जेनि हुनुको अवरोध होला यो ।
होला तर तिमिलाई पनि त आकाश मानी मैले संसारका सारा बिधुतिय पानाहरुमा खोजीरहे तर आकाश जस्तो उदार मान्छे सिकारु बनी यो धर्तीमा झरेको के थाहा मलाई ? त्यसैले होला भेटन नसकेको मैले पनि ।
( मीठो हासो दुबैजनाको )
यति बेलासम्म आकाश माथी उडीरहेको जहाज कान्तिपुरी नगरिको सिमा सम्म आइपुगेको थियो। एयर होस्टेजले ल्याण्ड गर्दा हुनसक्ने सम्भावित खतराबाट बच्नको लागी सुरक्षानिति बताउदै छन । हामी बिगतलाई हतियार बनाएर वर्तमानमा मिल्ने साथी भई जीउने वाचा सहित छुट्टीने प्रण गरेका छौ ।