07 May 2019

केही गजलहरु

. 07 May 2019
2 प्रतिक्रिया

सोचेन कसैले जनता बारे सत्य यही हो
 राष्ट्र लुटे सम्पती थुपारे सत्य यही हो 

 लोकतन्त्र गणतन्त्र आखिर के का लागि 
आफ्नो सत्ता लिन जनता मारे सत्य यही हो 

पख्नुस ठुलाको सिको गर्न हतार नगर्नुस् 
मै हुँ भन्नेले नै नियम बिगारे सत्य यही हो

 छिमेकको बिरोध गरि देशभक्त बन्नेहरु 
अचेल भाछन उनैका सुसारे सत्य यही हो 

 सोच्थे कोही त भेटिएला सच्चा राष्ट्रबादी 
सबै मिले सम्पदा निखारे सत्य यही हो 

 कुकुरको पुच्छर र दलका नेता उस्तै लाग्छ 
  न सुध्रिए न केही सुधारे सत्य यही हो 
 ------------------------- 
सधैं बिदेश धाई धाई जवानी सकियो
 प्रियाको स्पर्श नपाई जवानी सकियो 

ज्यानलाई ज्यानको आवस्यकता  रहेपनि 
च्याटमै रमाई रमाई जवानी सकियो  

बाबाको यै आग्रहले दिनहुँ झस्काइरहेछ 
केही गर देशमा आई जवानी सकियो 

 परिवार,आफन्त खुसी राख्न परदेश आए 
 कसैको चित्त नबुझाई जवानी सकियो 

देशमा श्रम प्रयोग नगरि मुग्लान बसेर 
राज्यलाई दोष लगाई जवानी सकियो

ए नारी हो कति रुप धनकै पछि दौडिन्छौ 
बुझ कोही त सूर्यलाई जवानी सकियो 
---------------------- 


हरेक चिजको महत्त्व आ-आफ्नै ठाउमा हुन्छ 
सुनकै जुत्ता किनेपनि स्थान पाउमा हुन्छ 

 मूल्यवान छु भन्नेले घमण्ड नदेखाए हुन्थ्यो 
दुई रुपैयाको टीका पनि शिरको सजाउमा हुन्छ 

 शहरका प्रायः  गेटमा सावधान लेखेको देख्छु 
पाहुनाको स्वागत गर्ने ढोका त गाउमा हुन्छ 

 देश नबन्नुको मुख्य कारण यही नै हो 
उच्च पदको व्यक्ती नै भ्रष्टको बचाउमा हुन्छ 

 जति नै शुद्ध भएपनि दुधको मूल्य सय नाघेन 
स्वास्थ्य बिगार्ने सराब चाहिँ उच्च भाउमा हुन्छ। 
-----------------------

 चिप्लो नघस्नु नजीक आई समयले बताउनेछ 
को आफ्नो को हो पराई समयले बताउनेछ 

 जा जा भन्यौं टेको दियौं माथी पुग्नुपर्छ भनी 
ढाल्यौ फेद रुख चढाई समयले बताउनेछ 

 फूल राखी पाती राखी नमो सूर्य भन्यौ पहिले 
ग्रहण लाग्दा छोड्यौ मलाई समयले बताउनेछ

 
 आफ्नै मान्छे सम्झिएर सारा कुरा सुम्पिदिए 
प्यासी रैछौ गयौं अघाई समयले बताउनेछ 

 मलाई जस्तै तिम्लाई पनि उस्ले चोट दियो भने 
कस्तो हुन्छ प्यारको दुखाइ  समयले बताउनेछ 
-------------------------- 

देखेर मान्छेको प्रेम गर्ने तरिका अचम्म लाग्छ 
सयौं रुप भेटाइयो पिरतिका अचम्म लाग्छ 

 आफ्ना रहर छोडी उनकै चाहनामा रमाएपनी 
 अधिक पल बेखुसी हुन्छिन्  प्रेमिका अचम्म लाग्छ 

 कसैले जिब्रो छेड्छन कसैले ट्याटु खोप्छन  
 देखेर रहर अचेल ठिटाठिटीका अचम्म लाग्छ 

 खाडी गैयो कोरिया गैयो जीवन सहज होस् भनी 
बिडम्बना बढे झन् दु:ख जिन्दगीका अचम्म लाग्छ

 हत्या हिंसा बलात्कार रोक्ने उपाय नखोजिकनै 
नेताजीहरु गफ हाक्छन  समृद्धिका अचम्म लाग्छ 

 ----------------=--------- 
कसोरी सुनाउ पीडाको दु:खद कहानी
 बालुवामा पोखेको पानी झैं छ जिन्दगानी 

 को आफ्नो को पराई चिन्न गार्हो भो अचेल 
फसिनु पर्ने प्रेमजालमा जानी नजानी 

 सिधा सौम्य हुनुको  बोध मज्जाले गरियो 
प्रहारै गरे सबले सोझो रुख छानी छानी 

 जस्ले जुनीभर साथ दिन्छु भन्यो उसैबाट 
सारा योजना जलाई बनाइयो खरानी 

 यसरी जीवन उजाड्नु नै थियो भने आज
 हिजो किन चढे "सूर्य "मा जल अर्घ्य सानी

------------------------- 
मान्छे अचेल यति सोखिन छ बुझ्नुहोला 
भोकै बसीबसी कपडा किन्छ बुझ्नुहोला

 हर शास्त्रले यै सन्देश दिन्छ बुझ्नुहोला 
मान गरे मात्र सम्मान पाइन्छ बुझ्नुहोला 

 धन हुँदैमा कोही चाहिन्न नभन्नुपर्ने हजुरले  
 एकदिन फालेको टालो'नि चाहिन्छ बुझ्नुहोला 

 आफ्नो आलोचना सुन्न सिक्नुस न महोदय 
सही आलोचनाले अघि बढिन्छ बुझ्नुहोला  

 यो लोभ मोह क्रोध के का लागि देखाउनु भो
 एकदिन त सबै जरुर मरिन्छ बुझ्नुहोला 

 आफूलाई यति सोझो पनि नबनाउनुस् मित्र 
सिधा रुख नै पहिला काटिन्छ बुझ्नुहोला 

 तपाईंको नजरमा सूर्य कस्तो छ थाह छैन तर 
ऊ आफै जलेर उज्यालो दिन्छ बुझ्नुहोला

 --------------------------

 ज्यानले शिखर भेटाउनेे सोचाई राख्छ 
भाग्यले यी दुबै खुट्टा समाई राख्छ 

 जस्ले जिन्दगानी हरपल दुखाई छोड्यो 
 मनले उसैको आकृती सजाई राख्छ 

 एक्लो बस्दा तीन दिन नभोकाउने छोरो 
आमाको साथमा पल पल भोकाई राख्छ 

 तिमी नजीक हुँदा यस्तो लाग्छ मलाई 
 जस्तो काडाँले फूललाई जोगाई राख्छ 

 मान्छे यती दिग्भ्रमित छ "सूर्य" को लागि 
आफ्नो बश पार्न जल अर्घ्य चढाई राख्छ 

 ------------------------------

 तिम्रो मेरो सम्बन्धलाई खास बनाउनु छ 
सफल प्रेम जोडीको इतिहास बनाउनु छ 

 आवरणले आचरण बुझ्न सक्दै सकिन मैले 
हृदय पगालेर जीवन झकास बनाउनु छ 

 भाग्यले सबै दिलाउछ भन्नु भ्रम मात्र हो 
यो समयलाई  आफ्नै  अधिनको दास बनाउनु छ

 बेहुली हुने रहर केही क्षण बिर्सिदेउ सानी 
सम्बन्ध गास्नु पूर्व ओत्ने बास बनाउनु छ 

 यसैकारण दिनहुँ खुशी देखिन्छ सूर्य 
 हरपल हाँसेर दुश्मन निरास बनाउनु छ 

-----------------------------------

 सँगै हिड्नेहरुले यस्तै गर्छन् काम 
 बगलिमा छुरा छ मुखमा राम राम 

 आफै धामी बन्छ आफै बन्छ बोक्सी 
नेता बन्छ खोसेरै गरिबहरुको माम 

 ल्याउछु भन्दै गाउँमा बिकासको बाढी 
पचाइदियो सेवकले योजनाको दाम 

 खाली हात बसे कहाँ आउँनु पालो 
राखे मिल्छ कुरो पैसा भाको खाम 

सेवा गर्न सके मातापिताहरुको 
त्यै हो धर्मकर्म त्यै हो चार धाम 

---------------------------- 

सफल मार्गमा सयौं किसिमको  व्यवधान हुन्छ
 शिखर ताक्नेको सबचिज झेल्ने अडान हुन्छ

 गोजी रित्तिए मात्रै हो अचेल सम्बन्ध छुट्ने 
टन्न दाम भए शत्रुको समेत तानातान हुन्छ

 तिमी बिना म गणितको शुन्य जस्तै हुँ प्रिय 
 जो एक्लै अर्थहिन र अरुसँग मूल्यवान हुन्छ 

 म बुद्धको देशमा जन्मेको त्यस्तो नागरिक हुँ 
जहाँ भ्रष्टलाई समेत राज्यबाट सम्मान हुन्छ 

 बर्षौ जल्दा त सूर्यलाई गुमनाम बनाइयो 
जाबो यौटा त्यागले तिम्रो कहाँ पहिचान  हुन्छ

 ----------------- 

बोल्नेले भन्दा हिड्नेले शिखर आट्न सक्छ 
आत्म  ढाटनेले अरुलाई पनि ढाट्न सक्छ 

 आफ्नो थुतुनो बिचार गरी चलाउनुस साथी 
जिब्रोले खुन ननिकाली देह काट्न सक्छ 

 बर्षौ सेवक हुँदा केही त छुट देउ प्रिया 
 जस्तो मह काढ्नेले आफ्नो हात चाट्न सक्छ 

 नम्बरी सुन झैँ चोखो हुनुस  सम्बन्ध गाँस्दा
 कमसल भए अमुल्य जीवन फाट्न सक्छ 

 उहीँ सुखी छ खुसी छ अभावै भएपनि 
जस्ले पीडा समेत खुशी सँग साट्न सक्छ

 ----------------------- 

न समाउने हाँगो भेटियो न टेक्ने टेको छ 
बर्षौं देखि जिन्दगानी यसैगरी बितेको छ

 आफै महान छु भन्दै हिड्नेले बुझे हुन्थ्यो 
रित्तो भाडोले नै बढी आवाज निकालेको छ
 
 असफल भए बाटो फेर्नु सत्गुण यथावत राखी 
नयाँ बन्न रुखले जरा होइन पात फेरेको छ

 तिम्रो अभावले अचेल यस्तो बनाइदियो 
आँखामा तिमी र सिरानीमा  तस्वीर रहेको छ 

 जिन्दगीले आँसुको तलाउमा  डुबाएदेखी 
संसार तताउने "सूर्य" आफै चिसिएको छ

 --------------------

 पूर्ण हुनेले जसोतसो आफुलाई सम्हालेको छ 
खोक्रो बस्तुले नै प्राय बढी आवाज निकालेको छ 

 असफल भए मार्ग बदल्नु सिद्धान्त यथावत राखी 
नयाँ बन्न रुखले जरा होइन पात झरालेको छ 

लोकतन्त्रले नेताजीको जिब्रो यस्तो बनाइदियो
 खोले खानेले मासु दिदा समेत दालिरहेको छ 

 जल्नेले अरुलाई पनि जलाउछ भन्नू व्यर्थ हो 
भन्नुस सूर्यले आजसम्म कस्लाई जलाएको छ?


 =============
बाँकी यता >>